सधै गरीब जनताको भलो र समान्ताको वकलत गर्ने माओवादिका नेताहरु आज जनतको छोरा छोरी चाही बिभिन्न क्यापमा नेता को छोरा चाही शहरको स्कुल मा ,,,

नेताका छोराछोरी महँगा निजी विद्यालयमा, माओवादीका शिक्षक र विद्यार्थी संगठन मझधारमा

मैले नसोचेको स्याबासी पाएँ," चीनको इस्टवेस्ट युनिभर्सिटीमा छात्रवृत्तिमा एमबीबीएस पढिरहेको आफ्नो छोरालाई फिर्ता बोलाएपछि एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा गर्वले फुलेका देखिन्थे, २९ असारमा। भन्दै थिए, "कहिल्यै नचिनेकाहरूले समेत नम्बर पत्ता लगाई एसएमएस र फोन गरेर बधाई दिए।" तर, उनकै पार्टीका केही शीर्ष नेताहरूले भने 'यो के गरेको ?' भनेर प्रश्न गरे। त्यसपछि शर्मालाई सरकारी विद्यालयको गुणस्तर सुधार गर्नुपर्छ भन्ने माओवादी मान्यता ओझेलमा पर्दै गएजस्तो अनुभूति भयो रे !

माओवादीका दुई भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले आफ्ना नेता तथा कार्यकर्ताका छोराछोरीलाई निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा पढाउन दबाब दिइरहेका छन्। पार्टी शान्ति प्रक्रियामा ओर्लेयता नै उनीहरूले यस नारालाई पटक-पटक उठाइरहेका छन्। र, यही आन्दोलनलाई चर्काउने उद्देश्यले चीनमा एमबीबीएस पढ्दै गरेका आफ्ना छोरा सरललाई फिर्ता बोलाएका हुन् शर्माले। तर, गाँठी कुरा भने अर्कै छ। पार्टीका सानाठूला धेरै नेताहरूका छोराछोरी महँगा निजी विद्यालयमै पढिरहेका छन् र शर्माहरूको यस आन्दोलनले उनीहरूलाई केही फरक पारेको छैन। उल्टै, आफ्ना सन्तानलाई महँगा निजी विद्यालयमा भर्ना गर्ने क्रम बढ्दो छ।

२६ असारमा सरल स्वदेश फिरे। त्यस घटनाले निकै ठूलो चर्चा पनि पायो। तर, त्यो चर्चा धेरै टिक्न सकेन। ३ साउनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका पदाधिकारीहरूसँग आफ्नै निवास नयाँ बजारमा भेट गरे, जहाँ प्रचण्ड आफैँले फोन गरेर सरललाई पनि बोलाएका थिए। अध्यक्षको बोलावटबाट दंग पर्दै नयाँबजार पुगेका सरललाई प्रचण्डले चीन र्फकन निर्देशन दिए। उनका बाबु हिमालले अध्यक्ष प्रचण्डको निर्देशन प्रतिवाद नै गर्न सकेनन्।

४ साउनमा अनेरास्ववियु क्रान्तिकारीको पदाधिकारी बैठक बसेर अध्यक्ष प्रचण्डको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गर्‍यो। ५ साउनको राती सरल चीन फर्किए। सरलको फिर्तीको अर्थ खोजिँदै छ अहिले माओवादीभित्र। धेरैले यसलाई माओवादीका विद्यार्थी र शिक्षक संगठनहरूले धान्नै नसक्ने आन्दोलन सुरु गरेकाले अन्तत: सरल फर्केका भनिरहेका छन् भने केही माओवादीभित्र महँगा र निजी विद्यालयप्रति बढिरहेको मोहका कारण पनि त्यसो भएको अनुमान गररिहेका छन्।

तर विडम्बना, अध्यक्ष प्रचण्डमा समेत निजी विद्यालयप्रतिको अनाकर्षण कम भएको छैन, देखावटी रूपमै भए पनि। जस्तो कि उनले सरललाई आश्वस्त पार्न त्यस्तै अनाकर्षणको कुरा गरे। जारी केन्द्रीय समिति बैठकमै शीर्ष नेताका छोराछोरीलाई निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा लैजाने प्रस्ताव लैजाने आश्वासन दिएका थिए प्रचण्डले सरललाई। सरल भन्छन्, "अध्यक्ष प्रचण्डले यही केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर क्रमश: नेताका छोराछोरीलाई निजी विद्यालयबाट निकाल्छौँ भन्नु भएको छ। त्यही विश्वासका साथ म र्फकंदै छु।"

अनेरास्ववियु क्रान्तिकारीले १५ जेठदेखि एक महिनासम्म 'विद्यालय जाऊँ' अभियान चलाएको थियो। त्यसका निम्ति उसले मुख्य नारा बनाएको थियो, 'सार्वजनिक विद्यालयको स्तरोन्नति, निजी शिक्षाको नियन्त्रण।' यस अभियानको एउटा उद्देश्य माओवादी नेताका छोराछोरी कहाँ पढ्छन् भन्ने पत्ता लगाउनु पनि थियो। खोजको निष्कर्ष रोचक छ, अधिकांश नेताका छोराछोरी निजी विद्यालयमा पढ्छन् र त्यो पनि महँगामा। शर्मा भन्छन्, "सबै प्रभावशाली नेताले आफ्ना सन्तान निजी विद्यालयमै पढाएका छन्। अवस्था कस्तो देखिएको छ भने कसले चाहिँ पढाएका छैनन् भनेर खोज्नुपर्ने भएको छ।"

माओवादी नेताले आफ्ना सन्तान निजी विद्यालयमा मात्र पढाएको पाइएपछि ९ असारमा अखिल क्रान्तिकारीले पार्टी मुख्यालय पेरसिडाँडा पुगेर एउटा ज्ञापनपत्र बुझायो। १० असारबाट हुँदै गरेको केन्द्रीय समिति बैठकमा नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन दबाब दिने उद्देश्य थियो ज्ञापनपत्रकोे। यति गर्दा पनि कुनै पनि नेताले आफ्ना सन्तान निजीबाट सरकारीमा सारेका छैनन्। प्रश्न उठ्नु स्वाभाविक छ, के माओवादी नेताहरूले आफ्ना सन्तानलाई महँगा निजी विद्यालयबाट निकालेर सार्वजनिक विद्यालयमा पढाउलान् ? शर्मा भन्छन्, "नेताहरूमा नैतिकता छ र शिक्षामा रहेको विभेद एवं व्यापारीकरणलाई रोक्ने हो भने नपढाइ सुखै छैन।"

निजी विद्यालयमा पढाउन तँछाडमछाड नै चलेको छ माओवादीमा। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीका बुझाइमा यसका दुई कारण छन्। पहिलो, विचारप्रतिको दृढता कम हुनु। जस्तो- शिक्षा नि:शुल्क, अनिवार्य, व्यावहारकि र सार्वभौम हुनुपर्छ भन्ने माक्र्सवादी मान्यता हो। निजी विद्यालयमा पढाउनु भनेको त्यस मान्यताबाट पछि हटेर वर्गीय विचलन आउनु हो भन्छन् लोहनी। लोहनीका अनुसार वर्गविभेद चर्कनेे संकेत पनि हो यो। उनका अनुसार निजी र सार्वजनिक शिक्षाले सम्पन्न र विपन्न दुई वर्ग जन्माउने काम गररिहेको छ।

लोहनीका शब्दमा अहिले कति महँगा विद्यालयमा पढाउन सकिन्छ भन्ने रोगले माओवादी नेताहरूलाई ग्रस्त बनाएको छ। उनका अनुसार नेताका छोराछोरीले सार्वजनिक विद्यालयमा पढ्नुु पर्छ भन्नुको कारण हो, निजी शिक्षाले नेपालका लागि आवश्यक जनशक्ति उत्पादन नगरी नयाँ पुस्तालाई युरोप, अमेरिका, बेलायतजस्ता देश जाने रुमानी सपना देखाउनु।

नेताहरूका अनुसार शिक्षामा पहुँचकै कारण यतिखेर माओवादीमा तीन खाले जमातको निर्माण भएको छ। पहिलो सहिद, बेपत्ता, सामान्य कार्यकर्ता र सर्वसाधारण गरबिका छोरीछोरीको जमात, जसले विद्यालयको मुख नै देख्न पाएका छैनन्। दोस्ा्रो, मझौला कदका नेताका छोराछोरी जो सार्वजनिक र केही सस्ता निजी विद्यालयमा पढिरहेका छन्। तेस्रो, शीर्ष नेताका छोराछोरी र नातिनातिनाहरू, जो महँगा निजी विद्यालयमा पढिरहेका छन्।

असार-साउन ०६६ मा बसेको माओवादी केन्द्रीय समिति बैठकले पार्टीमा शुद्धीकरण गर्ने भन्दै १५ बुँदे आचारसंहिता जारी गरेको थियो। त्यसको ११ नम्बर बँुदामा 'केन्द्रीय सदस्यले पार्टीको खर्चमा विदेश र महँगा निजी एवं आवासीय विद्यालयहरूमा छोराछोरीलाई पढाउन पाइने छैन' उल्लेख छ। माओवादीले सन्तानलाई निजी विद्यालयमा पढाउन नपाउने भनेर गरिएको आधिकारकि निर्णय यही हो। बुँदामा उल्लिखित 'पार्टीको खर्चमा' भन्ने शब्दावलीको पनि दुरूपयोग भइरहेको छ। धेरैले नातागोताले पढाइदिएको भनेर उम्कन पाएका छन्।

साउन ०६४ मा राजधानीको बालाजुमा भएको चौथो विस्तारति बैठकमा पेस गरिएको सम्पत्ति विवरणलाई पत्याउने हो भने त माओवादीका अधिकांश शीर्ष नेताहरूले आफ्ना सन्तान त्यति महँगा विद्यालयमा पढाउन सक्दैनन्। नेताहरूसँग निजी सम्पत्ति छैन, सबैको सम्पत्ति पार्टीकरण भइसकेको छ। तर, तिनै नेताले लिटिल एन्जल्स, सेन्ट जेभियर्स, सेन्ट मेरजि, जेम्स, रोजबडजस्ता महँगा निजी विद्यालयमा पढाउँछन्। कहाँबाट आउँछ पैसा ? जिज्ञासा उठ्नु स्वाभाविक देखिन्छ।

सन्तानलाई निजी विद्यालयमा पढाउनु त छँदैछ, अहिले आएर विभिन्न तहका माओवादी नेताहरूले निजी विद्यालयमा लगानीसमेत गर्न थालेका छन्। माओवादीको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार देशभरका सात हजारमध्ये १० प्रतिशत विद्यालयमा माओवादी नेताहरूको लगानी छ। निजी विद्यालयमा लगानी गर्नेमा सबैभन्दा अगाडि छन् माओवादीको बुद्धिजीवी फाँटका माधव मरहठ्ठा। उनले सञ्चालन गरेको निजी विद्यालय बालाजुमा छ। पोलिटब्युरो सदस्य हितमान शाक्य र अधिकांश माओवादी नेताहरूले कलंकीको ज्ञानकुञ्जमा लगानी गरेका छन्। शिक्षक संगठनले आफ्नो प्रतिवेदनमा लगानी गर्ने नेताहरूको फेहरस्ित भने उल्लेख गरेको छैन।

अभिभावकले आफ्ना सन्तानलाई निजी वा सरकारी कहाँ पढाउने भनेर छनोट गर्न पाउनु व्यक्तिगत स्वतन्त्रता पनि हो। के व्यक्तिगत स्वतन्त्रतालाई संगठनको नीतिका नाममा बन्देज लगाउन पाइन्छ ? शिक्षक संगठनका अध्यक्ष लोहनी भन्छन्, "हाम्रो दबाब स्वतन्त्रताको हननका निम्ति होइन, बरु संविधानमै किटान गरिएको सबैलाई समान मौलिक हक स्थापित गर्न हो।" उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन -प्याब्सन)का अध्यक्ष तथा जेम्स स्कुलका संस्थापक राजेश खड्का भने माओवादीका दुई भ्रातृ संगठनको दबाब आलोकाँचो भएको बताउँछन्। भन्छन्, "प्रतिस्पर्धाको युगमा पनि यस्तो संकुचित विचार जन्माउने हो भने नयाँ शैक्षिक क्रान्ति सुरु हुनेछ।" उनले भनेको 'क्रान्ति' निजी विद्यालयहरूको विद्रोह त होइन ?

यिनका सन्तान कहाँ पढ्छन् ?

प्रसंग सुरु गरौँ, एकीकृत माओवादी अध्यक्ष प्रचण्डबाटै। प्रचण्डकी कान्छी छोरीकी छोरी स्िमता प्रधान दाहाल ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स विद्यालयमा कक्षा १ मा पढ्छिन्। यो त्यही विद्यालय हो, जहाँ आफ्ना सन्तानलाई पढाउन कुलीनहरूले पनि प्रतिस्पर्धा गर्नुपर्छ। यसअघि बुद्धनगरको रोजबड स्कुलमा पढिरहेकी थिइन् स्िमता। यही शैक्षिक सत्रबाट उनलाई सेन्ट जेभियर्समा लगिएको हो।

माओवादी शीर्ष नेताका छोराछोरी सबैभन्दा बढी पढ्ने विद्यालय हो, सेन्ट जेभियर्स। मध्यमवर्गीयहरू बढी पढ्ने हात्तीवनको लिटिल एन्जल्स, बालाजुको सिद्धार्थ वनस्थली, कलंकीको एलआरआईलगायत ज्ञानकुञ्ज, धापाखेलको जेम्स, सामाखुसीको त्रिकोणमा पनि माओवादी नेताका छोराछोरी पढिरहेका छन्।

स्थायी समिति सदस्य एवं उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराका कान्छा छोरा राहुल अध्ययनका लागि गत फागुनमा चीन गएका छन्। स्थायी समिति सदस्य देव गुरुङका जेठा छोरा विजय पाल्पामा एमबीबीएस पढ्दैछन्। छात्रवृत्ति नपाउने हो भने यो कोर्स सकुन्जेलसम्म शुल्कबापत मात्रै झन्डै ४० लाख रुपियाँ लाग्छ। अर्का स्थायी समिति सदस्य एवं भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप राजधानीको सिनामंगलस्थित नोबेल कलेजमा बीबीए चौथो सेमेस्टरमा अध्यनरत छन्। उनकी छोरी सन्ध्या भारतको दिल्लीस्थित मामाघरमा बसेर पढिरहेकी छन्।

स्थायी समितिका अर्का सदस्य वर्षमान पुनका एक छोरा र एक छोरी छन्। उनीहरू सेन्ट जेभियर्समै पढ्छन्। स्थायी समितिकै सदस्य लीलामणि पोखरेलका छोरा चीनमा एमबीबीएस पढ्दै छन्। दिनानाथ शर्माकी नातिनी सिद्धार्थ वनस्थलीमा पढ्छिन् भने कान्छा छोरा साजन पौडेल चीनमै उच्च शिक्षा लिइरहेका छन्। पोलिटब्युरो सदस्य एवं सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाका माइला छोरा रूपक सापकोटा पनि चीनमै अध्यनरत छन्।

पोलिटब्युरो सदस्य हितमान शाक्यकी छोरी कलंकीको ज्ञानकुञ्ज उच्च माविमा र हरभिक्त कँडेलका छोरा प्रशान्त बंगलादेशमा एमबीबीएस पढ्दैछन्। पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी एक मात्र छोरी संगम सेन्ट मेरजिमा कक्षा ८ मा अध्यनरत छिन्। पोलिटब्युरो सदस्य जनार्दन शर्माकी छोरी लिटिल एन्जल्स अन्तर्गत नर्स र छोरा सेन्ट जेभियर्समा पढ्छन्। त्यसैगरी, पोलिटब्युरो सदस्य एवं माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालका छोरा बुटवलको दीप बोर्डिङ् स्कुलमा अध्ययन गररिहेका छन्। लोकेन्द्र विष्टका सन्तान पनि निजी विद्यालयमै पढिरहेका छन्। अर्का पोलिटब्युरो सदस्य कुलप्रसाद केसीकी छोरी पनि लिटिल एन्जल्समा अध्यनरत छिन्। देवेन्द्र पौडेलकी छोरी गरमिाले यही वर्ष कलंकीस्थित एलआरआईबाट १२ कक्षा सकेकी छन्।

पोलिटब्युरो सदस्य नारायण शर्माका छोरा मनन कान्तिपुर इन्जिनियरङि् कलेजमा अध्ययन गररिहेका छन्। गोपाल किराँतीका छोरा छाङ्छा किराँतीले अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलबाट यसै वर्ष एसएससी गरेका छन्। पोलिटब्युरो सदस्य नवराज सुवेदीकी एक छोरी किष्ट मेडिकल कलेजमा पढिरहेकी छन् भने अर्की पनि उत्तिकै महँगो विद्यालयमा पढ्छिन्। केन्द्रीय सदस्य जयपुरी घर्तीकी एक छोरी छन्। उनी पनि लिटिल एन्जल्समा पढ्छिन्। केन्द्रीय सदस्य केशव नेपालकी छोरी अञ्जुला अस्ट्रेलियामा अध्ययनरत छिन् भने छोरा अनुज बालकुमारीस्थित एनसीआईटी कलेजमा कम्प्युटर इन्जिनियरङि् पढिरहेका छन्।

केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटाकी छोरी पूणिर्मा एपोलो कजेल बानेश्वरमा बीबीए दोस्रो सेमेस्टरमा अध्ययन गररिहेकी छन्। केन्द्रीय सदस्य किसन शर्माका छोरा धीरज शर्मा एनसीआईटी कलेजमा अध्ययनरत छन्। केन्द्रीय सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष कृष्ण केसीका छोराले नोबेल एकेडेमीबाट यसै वर्ष एसएलसी सकेका छन्। अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुली तथा धादिङकी सभासद् कल्पना धमलाका छोरा निश्चल सेन्ट जेभियर्समा अध्यनरत छन्।

माओवादी जनसेनाको तेस्रो डिभिजनका कमान्डर धनबहादुर मास्कीकी छोरी, चौथो डिभिजन कमान्डर तेजबहादुर ओली र छैटौँ डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीका छोराछोरी पनि लिटिल एन्जल्स स्कुलमा अध्ययन गररिहेका छन्। त्यसैगरी अखिल नेपाल टे्रड युनियनका अध्यक्ष एवं धादिङकै अर्का सभासद् शालिकराम जम्कट्टेलकी छोरी बुद्धनगरमा रहेको रोजबडमा पढिरहेकी छन्।

स्रोतका अनुसार सेन्ट मेरजिमा १४ जना माओवादी नेताहरूले आफ्ना सन्तान पढाइरहेका छन्। त्यसैगरी जेम्समा १३, एलआरआईमा ११, सिद्धार्थ वनस्थलीमा १७ र त्रिकोणमा पाँच जना माओवादी केन्द्रीय नेताका छोराछोरी पढ्दै छन्। स्रोतका अनुसार नेताका सन्तानहरू प्राय: सबैले नि:शुल्क पढ्न पाइरहेका छन्।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment